पाँचौ दिन
“म्याउँ ! म्याउँ ! म्याउँ !” बिरालाको एकनासको आवाज कानमा परेपछि नीला पनि बिउँझिएकी थिई । नीला बिउँझिनुअघि नै आभास उठेर बिरालो भएठाउँमा पुगिसकेको थियो । आभासले मर्करी बत्ती बालेको कारण कोठा झलमल्ल भएको थियो । नीलाका आँखा पलङकै सिराननिर राखिएको घडीमा परेका थिए । बिहानको चार बजिसकेको थियो ।
“के भयो ! मिलन राजालाई के भयो !” आभास बिरालो भए ठाउँमा पुगेर उसलाई सधैँ झैँ छातीमा टाँसेर फकाउँदै थियो । बिरालो पनि आमाका काखमा पुगेको रुँदारुँदैको बच्चोजस्तो भएर चुप लागेको थियो । आभासको छातीमा टाँसिएको बिरालोलाई देखेर आफूमा पैदा भएको असहजपनलाई लुकाउँदै नीलाले निदाएजस्तो गरेर आँखा चिम्लिरही ।
केहीबेर छातीमा टाँसेर कोठामा यताउति डुलाएपछि आभासले बिरालोलाई पुनः उसैको पलङमा हालिदिएको थियो । त्यसपछि ऊ बत्ती निभाएर आफ्नो बिछ्यौनामा आएर सरक्क सुतेको थियो । एकैछिन पनि बितेको थिएन; पुनः बिरालो “म्याउँम्याउँ” गर्न लाग्यो । आभास जुरुक्क उठ्यो, बत्ती बाल्यो, बिरालो बोक्यो र बत्ती निभाएर कोठाबाट बाहिर निस्क्यो ।
अब नीला बिछ्यौनामा र कोठामा समेत एक्लै भएकी थिई । “बिरालोलाई त्यसको कोठामा छोडेर आभास आउँछ होला !” नीलाले यस्तै सोचेकी थिई र ऊ आभासको प्रतीक्षामा बसिरही, तर समय क्रमशः रित्तै बितिरह्यो ।
बिहान झलमल्ल घाम लाग्दासम्म पनि आभास नीला नजिक आएन । रातभरिजसो निदाउन नसकेको अवस्थाको आलस्य बोकेर भए पनि आज नीलाले अफिस जानैपर्थ्यो । त्यसो त फोनमा सूचना गरेर पनि बिदा बढाउन नसकिने होइन । तर किन र कसका लागि बिदा लिने ? उसले मनमनै प्रश्न पनि गरी । अब उसले अफिस नै जानुपर्छ । आफ्नो निर्णयका कारण उसको शरीरमा केही मात्रामा स्फूर्ति पनि आएको थियो ।
ऊ जुरुक्क उठी, नित्यकर्म सकी र कार्यालय जाने तयारीमा जुटी । नीला अफिसका लागि रेडी भइसक्दा पनि आभासको नाकमुख उसले देखेकी थिइन । नीला बैठकमा पुगेर आभासको खोजी गर्न मात्र लागेकी थिई । त्यसै बेला मूल गेट खोलेको आवाज आयो । नीलाका आँखा मूलद्वारमै पुगे । घरको मोटर आएको थियो । मङ्गलमान पनि आभाससँगै थियो ।
“हेरन नीला ! यसलाई चेकअप गराउन डा.दत्तकहाँ पुगेर आएको । यसलाई भएको भाइरल इन्फेक्सनका कारण अझै एक हप्तासम्म औषधी खुवाउनुपर्छ भनेको छ ।” आभासले बडो चिन्तित भएर भनेको थियो । बिरालो छातीमा टाँसेर आफ्ना अगाडि आइपुगेको आभासका अनुहारमा नीलालाई हेर्न पनि मन लागेको थिएन । “म अफिस जान लागेकी” नीलाले निराश आवाजमा आफ्नाबारे जानकारी प्रस्तुत गरेकी थिई । “तिमीले ब्रेकफास्ट खायौ ? लन्च त अफिसमै गर्छ्यौ होइन ?” आभासले पनि नीलाको जानकारी लिन खोजेको थियो । नीलाले आभासको पछिल्लो प्रश्नका लागि टाउको हल्लाएर स्वीकृतिसूचक जवाफ दिएकी थिई र आभासले आफ्ना दुवै प्रसङ्गको सकारात्मक जवाफ पाएको ठहर गरेको थियो । आभाससँग बिदा भएर नीला घरबाट पहिलोपल्ट अफिसतिर भोकै लागेकी थिई । “नीला ! तिमी अफिसबाट चाँडो घर आऊ है ! मलाई तिमी नहुँदा नरमाइलो लाग्छ ।” आभासले नीलालाई अफिस पठाउने बेलामा अँगालोमा राखेर भन्नेछ । यो नीलाको मीठो कल्पना थियो । आभास उसलाई अफिस प्रुयाउन पनि आफैँ मोटर हाँकेर आउला । आँखाभरि विरहको उदासी बोकेर अफिसको गेटमा उसलाई प्रुयाउने आभाससँग छुट्टिन नीलालाई पनि गाह्रो पर्ला । यस्तै अपेक्षा बोकेकी थिई नीलाले ।
“हेमराज ! रानीसाहेबलाई अफिस प्रुयाएर आऊ” आभासले आफ्नो ड्राइभरलाई अह्राएको थियो । त्यसपछि नीलालाई हात हल्लाएर बिदा गर्दै छातीमा बिरालो च्यापेर आभास घरभित्र पसेको थियो । मनमा अथाह वेदनाको भारी बोक्दै नीला हेमराजले हाँकेको मोटरमा चढेर अफिस पुगेकी थिई ।
●
“कस्तो भयो त हनिमुन ? तिमीले किन लामो बिदा नलिएकी मोरी ! एकबारको जिन्दगीमा रमाइलो गरिहाल्नुपर्छ नीलु !” उर्मिलाले उत्ताउलिँदै भनेकी थिई । कसैलाई नडाकी, कुनै सुइँको नदिई गरेको नीलाको बिहेको समाचार किल्किले नभएकी उर्मिलाका कारण अफिसमा सनसनीपूर्ण समाचार भइसकेको रहेछ । “नीला जी, यस्तो त भएन नि ! हामीलाई भोजै नखुवाई सुटुक्क आफूमात्र रमाइलो गर्ने ?” अफिसका सबै सहकर्मीहरूको एकैखाले भनाइ थियो ।
यस्तो बेला खुसी छचल्किएर कहाँ पोखूँ हुनुपर्ने नीला भने आफूभित्र पीडा उमारेर आफ्नै लागि दयनीय भएकी थिई । उसको दर्द कसैलाई बाँड्न सकिने पनि थिएन । त्यसैले यस बेला नीलाले आफ्ना ओठमा जबर्जस्ती मुस्कान फैलाउनुबाहेक केही गर्नसकेकी थिइन । कार्यालयको काममा व्यस्त भएको समय नीलाका लागि आत्मपीडाबाट केही राहतको उपायझैँ भएको थियो । लन्चआवरमा भने ऊ पुनः साथीभाइहरूको ठट्टारमाइलोको केन्द्रविन्दु नै भएकी थिई ।
“नीलाको त रौनक नै भिन्नै भएछ नि !”
“नीलाजीलाई अब छोड्नुहुन्न; उहाँले भोज खुवाउनै पर्छ ।” “हाम्रो मिस्टर नीलाजीलाई पनि हेर्नुप्रयो नि !” “नीलाजीको हनिमुन कता नि !”
“निकै धनी हुनुहुन्छ रे मिस्टर नीलाजी ! हङकङ, बैङ्कक, सिङ्गापुरतिरै होला हनिमुन !”
“नीलाजी हामीलाई पनि सम्झनुस् है ! बैङ्कक छिट्टै जानुभयो भने म पनि एकदुइटा सामान झिकाउँछु; मसँग डलर रेडी छ ।” विभिन्न कुराहरू, मान्छेमान्छेका कुराकानीले नीलालाई यो आधाघण्टाको लन्चआवर घण्टौँको भएजसरी बितेको थियो । “किन नीला तेरो अनुहार ज्यादै मलिन छ नि ! आँखा पनि रातभरि जागै बसेजस्ता छन् । यो आभासले...” उर्मिलाले लन्च सकिएपछि एकान्त पारेर सोधेकी थिई । केही नजिक भएर उर्मिलाले गरेको प्रश्नले नीलाको मनको भित्री अंश छुनछुृन खोजेको थियो । तर आफूलाई ज्यादै संयमित पार्ने क्रममा अलि कठोर हुन खोजेकी थिई ऊ “त्यस्तो केही होइन; टाउको दुखिरहेकाले पनि यस्तो भएको होला !”
“सिटामोल खान त” उर्मिलाले सहानुभूतिपूर्वक सल्लाह दिएकी थिई । “अघि नै खाइसकेँ” नीलाले अलि तर्कन खोज्दै भनेकी थिई । अफिसमा बसुन्जेल बनावटी मुस्कान मुस्काउँदा मुस्काउँदै त्यस
दिन उसको मुख नै थाकेको थियो । बल्लतल्ल अफिस बिदा हुने बेला भएको थियो । “नीलाजीको त मोटर आइहाल्छ, हामीलाई पो बसको भीडमा घुस्रिनुपर्छ ।” एउटी सहकर्मीले ईर्ष्याले ग्रस्त हुँदै नीलालाई हेरेर भनेकी थिई । नभन्दै छ बज्नासाथ अफिस परिसरमा आभासको मोटर प्रवेश गरेको थियो । आआफ्नो बाटो लाग्ने तरखरमा रहेका धेरैजसो सहकर्मीले त्यसबेला नीलालाई पुलुक्क हेर्दै मन्द मुस्कान पोखेका थिए ।
ड्राइभिङ्ग सीटमा आभास नै बसेको थियो । यसरी आभास नै मोटर लिएर आएको देख्नासाथ नीला पनि प्रफुल्लित भएकी थिई । “तेरै त चाँदी कटाइ छ मोरी ! गर मस्ती । जा जा छिट्टो जा, दिनभरि छोड्नुपर्दा उसलाई कति गाह्रो भयो होला ?” उर्मिलाले उत्ताउलिएर भनेकी थिई ।
“नीला तिमी नहुँदा दिनभरि कस्तो शून्य भयो, तिमीसँग छुट्टिएर बस्दा सारै नरमाइलो हुँदो रहेछ ।” आभासको मोटरतिर जाँदा नीलाले पनि आभासबाट यस्तो अपेक्षा गरेकी थिई । नीला मोटरको ढोका खोलेर भित्र बसिसकेकी थिई र आभासले एकपल्ट उसको अनुहारमा पुलुक्क हेरेर केही हाँस्न मात्रै खोज्यो र मोटर स्टार्ट ग्रयो । “हेर न, मिलनको औषधी सकिएको रहेछ । त्यसैले औषधी पनि किन्नुप्रयो र तिमीलाई पनि लिएर जानुप्रयो भनेर म आएको । हेमराजले तिमीलाई लिन भनेर गाडी स्टार्ट गरिसकेको थियो । त्यसै बेला मैले मिलनको औषधी किन्नुपर्ने कुरा सम्झेँ । उनीहरूलाई औषधी लिन पठाउँदा अर्कै औषधी ल्याएर हैरान पार्छन् । त्यसैले मै आएको ।” आफू आउनाको कारण आभासले खुलस्त पारेको थियो । झूटै भए पनि “तिमीलाई लिन आएको” मात्र आभासले भनिदिएको भए नीलाको मनको अपेक्षाले भत्कनुको पीडा भोग्नुपर्ने थिएन ।
केहीअघि मात्र आभासलाई देख्दा नीलाभित्र उम्रिएका प्रफुल्लताका बिरुवाहरू हुर्किनै नपाई मरेका थिए । त्यसपछि उसले खुसी भएर आभासका अनुहारमा हेर्न पनि सकिन । पशुऔषधी पसलबाट आभासले औषधीहरू किनेर ल्यायो । नीला भने छेउ लगाइएको मोटरमै बसिरही ।
“मिलनलाई छ बजे नै औषधी खुवाउनुपर्ने, हेर न ढीलो भइसक्यो ।” आभासले नाडीघडी हेर्दै भनेपछि मोटरको स्पिड बढाएको थियो ।
उनीहरू घरपरिसरमा पुग्दा साँझको अँध्यारोले छपक्कै छोप्न लागेको थियो । बिजुलीबत्ती बलिसकेको थियो । बिजुलीबत्तीको झलमल्लले रात परिसकेको सूचना दिइरहेको थियो ।
नीला थकाइले लखतरान भएर आफ्नो कोठातिर लागेकी थिई भने आभास बिरालाको कोठाभित्र पसेको थियो । कोठामा पुगेर लुगा पनि नफेरी नीला पलङमा डङरङ्ङ पल्टेकी थिई । आफू यतिविधि थाकेको कुरा नीलालाई अफिसमा थाहा थिएन । यस बेला उसलाई कसैसँग नबोलूँ र चुपचाप सुतिरहूँजस्तो लागेको थियो । ऊ लखतरान परेकी थिई ।
“रानीसाहेब ! राजाले चिया ज्यूनार गर्न बोलाइबक्सेको छ ।” दलबहादुरदाइको छोरो सुरेश कोठाको ढोकामा उभिएको थियो । नीला झन्नैझन्नै निदाउन लागेकी थिई । “हँ, के भयो हँ ?” नीलाले आत्तिँदै सोधेकी थिई । उसले आफू आउनाको कारण पुनः दोह्रोयाएपछि नीला मन नभईनभई पनि यन्त्रचालित झैँ उठेर सुरेशको पछि लागेकी थिई ।
आभास बैठककोठामै एउटा सोफामा बसेको थियो । त्यहीँ नजिकै भुइँमा मङ्गलमान बिरालो खेलाउँदै थियो ।
नीला पुग्दा नपुग्दै दलबहादुर दाइ चियाको सर्दाम बोकेर उपस्थित भएका थिए । सधैँ झैँ चिया नीलाले नै बनाएकी थिई । चिया बनाउँदा बनाउँदै उसको ध्यान आफ्नो कपडामा गएको थियो । ऊ अझसम्म अफिसकै युनिफर्ममा थिई । “नीला तिमीले किन लुगा नफेरेको !” अब आभासले सोध्नेछ । ऊ सम्भावित जवाफ खोजेर पर्खिरही, तर आभासले सोधेन; अहँ राम्रोसँग हेर्दा पनि हेरेन । दुवैले चिया पिइरहे । त्यसपछिको समय गह्रुँगो भएर बितेको थियो । आभास त्यसैबेला टेलिभिजनको आफूलाई मनपर्ने जियोग्राफिकल च्यानल खोलेर मस्त भएको थियो । नीलाले आफूलाई पनि त्यही च्यानलमा डुबाउने प्रयत्न गरेकी थिई, तर ऊ निरर्थक भई । एकनास टेलिभिजन हेरिरहेको आभासलाई उसका आँखा छलेर नीलाले हेरेकी थिई । उसमा कुनै परिवर्तन थिएन । हिजोको आभास र आजको आभासमा रत्तीभरको पनि परिवर्तन देखिँदैन । तर किन नीलालाई आभास अर्कैजस्तो लागिरह्यो; एकदमै पराईजस्तो आभास देखी उसले ।
“नीला ! जिन्दगीको यस मोडमा तिमी मेरो साथ हुँदा मलाई जिन्दगी सारै रमाइलो लागेको छ । अब तिमीविनाको जीवनको कल्पना पनि म गर्न सक्तिनँ ।” त्यसै बेला आभासले भनेजस्तो लाग्यो नीलालाई । उसले आभासलाई ठह्रयाउने गरी हेरी । तर आभास भने टेलिभिजनमा देखाइएका जनावरहरूमै डुबेको थियो । टेलिभिजनको आवाजबाहेकको त्यो समय निःशब्द थियो र त्यस समयले दिएको पीडाबाट आहत नीलाको अबचेतनको क्रन्दनले नीला बिथोलिँदै गएकी थिई ।
आभासको आफूप्रतिको पलायनलाई नीलाले खप्न सकिन । त्यसैले ऊ त्यहाँबाट उठेर हिँडेकी थिई । “नीला ! यहीँ बस न, तिम्रो अनुपस्थितिमा यो टेलिभिजनको कुनै आकर्षण हुनेछैन ।” आभासले नीलाको हात च्याप्प समातेर उसलाई आफूसँगै बसालेको कल्पना पनि नीलाले गरी, तर यो पनि उसको कल्पना मात्रै रह्यो । आफ्नो कल्पनाप्रति लालायित हुँदै नीला थाकेको गतिमा अन्ततः त्यहाँबाट हिँडेकी थिई । आफ्नो तुहेको अपेक्षाको बोझले गलेकी नीलाले जाँदाजाँदै पनि आभासलाई हेरेकी थिई, तर आभासले टेलिभिजनबाट आँखा अलिकति पनि नीलातिर फर्काएको थिएन । त्यसबेला नीलालाई लाग्यो, आभासलाई ऊ हुनुको र नहुनुको खास अर्थ रहेनछ ।
“रानीसाहेब, यति थोरै किन ज्यूनार गरिबक्सेको ? मीठो भएन कि ?” त्यस बेलुकी दलबहादुर दाइले नीलालाई सोधेका थिए । “होइन दलबहादुर दाइ, आज मलाई भोक नै छैन ।” नीलाले जवाफ दिएकी थिई । “दलबहादुर दाइ, मिलनलाई दूध ठीक पार त । उसलाई औषधी खुवाउनेबित्तिकै दूध खुवाउनुपर्छ । बिहानको भन्दा अलि बढी हाल्नू है ! त्यो भोकायो पनि होला ।” आभासले आफूले खाँदाखाँदै दलबहादुर दाइलाई निर्देशन दिएको थियो ।
“नीला, तिमीले किन यति थोरै खाएकी ! तिमीले नखाए म पनि खान्नँ; कि तिमीलाई सन्चो छैन ? चेहरा पनि मलिन देख्छु ।” नीलाको कुण्ठित अपेक्षा अझै पनि आभासको उसप्रतिको समर्पणको भोकमा थियो । तर दलबहादुर दाइले भनेका शब्दहरूको सत्य जाँच गर्ने चाहना पनि आभासले यथार्थमा लिएको थिएन । उसले नीलाका थालतिर हेर्दा पनि हेरेन । लामो बसयात्रामा यात्रा गर्ने विविध दिशाका यात्रुहरूले कुनै होटलको एउटै टेबुलमा खाना खाए जसरी नै त्यस बेला उनीहरूले पनि खाएका थिए ।
नीला खाना खाएपछि सुत्ने कोठातिर लागी भने आभास बिरालाको कोठातिर लागेको थियो ।
“तिमी निदायौ ?” विगत रातहरूको अनिद्राले गर्दा पनि नीला त्यस रात साँच्चै नै निदाइसकेकी थिई । आभासले अँगालोमा बेरेको क्षण ऊ बिउँझिन पुगेकी थिई । नीलाको अपेक्षा ढीलै भए पनि पूरा गर्न आइपुगेको आभासका बलिष्ठ पाखुरालाई उसले हृदयबाट नै स्वागत गरी । यति दिनदेखि आभासका विरुद्ध आफूभित्र पलाएका विचारहरूलाई पनि उसले त्यसै बेला लघारेकी थिई । नीला धेरै दिनपछि आभासको बाहुपाशमा निर्धक्क हुन खोज्दै थिई । उसको हराएको स्वर्णिम सुख ऊ नजिक आउन लागेको थियो । “म्याउँ ! म्याउँ ! म्याउँ ! म्याउँ !”
प्राप्तिको नजिक नजिक पुग्न लागेका बखत बिरालाको आवाजले आभास नीलाबाट अलग्गियो । आकाशको माथिल्लो सतह छुन लागेको चङ्गा चुँडिएको अनुभूतिले मर्मान्त भई नीला । भोकाएको बेला मुखमा हालिसकेको गाँस थुतिएझैँ भयो उसलाई । “एकैछिन है, मिलनलाई के भयो ?” बिरालाको पलङतिर हानिँदै आभासले भनेको थियो । कोठाको ठूलो बत्ती बालेर आभास बिरालोमा केन्द्रित भएको थियो । अप्राप्तिजन्य पीडाको मर्मले छटपटिएकी नीलाले आभासलाई नजाऊ भनेर रोक्न पनि सकिन र ऊ गएको सत्यलाई हार्दिकतापूर्वक स्वीकार गर्न पनि सकिन । आफ्नै शरीरको जलन र मनको आगाको रापमा नीला छटपटिइरही मात्रै ।
“हेरन, आफ्नी आमाको सम्झना आयो होला त्यसलाई । यत्तिकै कराएको रहेछ, दूधदानी मुखमा हालिदिएँ, अहिले चुसेर सुतेको छ ।” आभासले आफूलाई पूर्वअवस्थामा प्रुयाउने प्रयत्न गर्दै भनेको थियो । बिजुलीद्वारा सञ्चालित अटोमेटिक मेसिन जस्तै ऊ तुरुन्तै आफ्नो पूर्वक्रियामा जुटेको थियो तर नीलाले आफूलाई कसै गरे पनि पूर्व अवस्थामा प्रुयाउन सकिन ।
एक्लो आनन्दप्राप्तिपछि आभास एकैछिनमा मस्त निद्रामा पुगेको थियो र नीला भने अप्राप्तिको दाहमा रातभरि भतभती सल्किरही । थाहा छैन रातको पछिल्लो पहरमा पनि ऊ कतिखेर निदाई !