पहिलो दिन
आज नीला र आभासको बिहे भएको पहिलो दिन हो । विवाहित हुनुको कुनै नौलो अनुभूति नहुँदानहुँदै पनि आज नीलाका मनका तहतहमा खुसीका मीठा अनुपम लहरहरू आउँदै जाँदै गर्दै छन् । “नीला ! मेरो इच्छा पुग्यो । तिमीहरूको जीवन सुखमय बितेको देख्नसुन्न पाऊँ ।” त्यस रात सुदेश र उर्मिलालाई बिदा गर्ने बेलामा नीलालाई आफ्नो अँगालोमा बाँधेर उर्मिलाले भनेकी थिई । आभास र नीलाले सल्लाहबाट नै उनीहरूको बिहेको उपलक्ष्यमा उर्मिला र सुदेशलाई मात्र बेलुकीको खानाका लागि आभासका घरमा बोलाएका थिए । आफूभित्र उमङ्ग, उत्साह र अपार आनन्दप्राप्तिको अवसर
भए पनि उनीहरू दुवैको यो दोस्रो विवाह भएका कारण पराइ आँखाका अघि आफ्नो रमाइलो खण्डित हुने डरले उनीहरूले कसैलाई पनि डाकेका थिएनन् । उनीहरूबीचको पुल भएकी उर्मिलालाई मात्र आभास र नीलाले आफ्नो खुसीमा साझेदार बनाएका थिए ।
“नीला ! तिमीलाई पाएपछि मैले मेरो जीवनको अवरुद्ध गतिलाई अघि बढाउन पाएको महसुस गरेको छु । म तिमीलाई खूबै माया गर्छु; सधैँ गरिरहनेछु ।” त्यस रात भावविभोर भएर आभासले भनेको थियो । “मलाई पनि तिम्रो साथले नवजीवन दिएको छ । म जीवनपर्यन्त तिम्रो प्रेमको आभारी रहनेछु ।” आभासको अँगालोमा बाँधिएको त्यसक्षण उसैको नशामा डुबेकी नीलाले पनि भनेकी थिई । “जिल्ला अदालतको मेरो साथी अनुप बाहिर गएको रहेछ; एक हप्तामा फर्कन्छ । ऊ आउनासाथ “कोर्ट म्यारिज” पनि गरिहाल्ने ।” आभासले अँगालो कस्तै भनेको थियो । “भैगो नि ! हामीले भगवान् साक्षी राखेर बिहे गरिसक्यौँ । कोर्ट म्यारिज किन गर्नुप्रयो र ?” नीलाले अँगालोबाट केही फुत्कन खोज्दै भनेकी थिई । “होइन नीलु ! हामी दुई नै बाँचुन्जेलसम्म त कानुनी कुराको जरुरी पनि पर्दैन । तर केही गरी म पहिले मरेँ भनेँ” आभासले बोल्दाबोल्दै उसको मुखमा नीलाले आफ्नो दाहिने हात प्रुयाएकी थिई । “तिमी मात्रै चाहिन्छ मलाई; तिमी नभएपछिको तिम्रो धन के काम मलाई ? आजको दिन पनि यस्तो नरमाइलो कुरा गर्ने तिमी ?” नीलाले केही रुष्ट हुन खोज्दै भनेकी थिई । कसोकसो उसको गला पनि अवरुद्ध हुन खोजेको थियो । “होइन; मेरी प्यारी, जीवनमा धेरै कुरा सोच्नुपर्छ । मैले तिम्रो चित्त दुखाउन खोजेको पक्कै पनि होइन । तर अहिलेको युग कानुनी मान्यतामा अडिएको युग हो । धर्म र अधर्मको नापजोख पनि कानुनले नै गर्छ । त्यसैले हाम्रो विवाहलाई कानुनसम्मत पनि बनाउनुपर्छ भन्न मात्र खोजेको हुँ मैले ।” त्यसपछि पुनः रातको मिठास बोलाउने क्रममा आभासले नीलालाई पनि आफ्ना कुरामा सहमत बनाएको थियो ।
नाइटबल्बको उज्यालामा पनि तस्बिरका बिरालाका आँखाले भने नीलालाई हेरिरहेझैँ लाग्यो । तर त्यस बेला उसले त्यो तस्बिरको बिरालाका आँखा नदेखेजस्तो गरेर आफ्नो मनलाई बाँधिरही ।
आधारातमा नीला बिउँझिएकी थिई । त्यस बेला पनि तस्बिरको बिरालाका आँखाले एकनास उसलाई हेरिरहेका थिए । रातको चकमन्नतामा बिरालाका एक जोडी कुइरा आँखा देख्दा नीलालाई अचानक डरको अनुभूति पनि भयो । आभास सन्तुष्ट निद्रामा मस्त थियो । नीलाले नाइटबल्ब पनि निभाई । कोठामा अब निस्तब्ध अन्धकारको मौनता छाएको थियो । नीलाले आँखा चिम्लिई । झनै अँध्यारो भयो । उसले हात बढाएर निदाएको आभासलाई अँगालो हाली । मनको डर भने हरायो तर आभास र आफू टाँस्सिएको अँगालोका बीचमा त्यही तस्बिरको बिरालाका आँखा आएजस्तो लाग्यो उसलाई । नीला आभाससँग एकदमै टाँस्सिएर निदाउन खोजी ।