प्रकाशकीय
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको हो । नेपाली भाषा संसारप्रतिको साधना हेतु जन्मेको नइ प्रकाशन वसुधैव कुटुम्बकम्को आदर्शमा आबद्ध छ । नइ प्रकाशनले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएको छ । देशदेशान्तरका प्रतिभाको सम्मान गर्नु यस संस्थाको अर्को प्रमुख उद्देश्य रहेको छ ।
नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायत अन्य विविध क्षेत्रका प्रतिभाको खोजी र तिनीहरूको अर्चनामा नइ प्रकाशन अग्रसर छ । यस संस्थाबाट बेलामौकामा विभिन्न सांस्कृतिक कार्यहरूका अतिरिक्त विविध ग्रन्थमालाहरूको पनि प्रकाशन भइरहेको छ ।
नइ प्रकाशन विशुद्ध नेपाली मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्दै नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवम् सुरुचिपूर्ण ढङ्गले प्रस्तुत गर्नसमेत अग्रसर छ । जगत्मा जन्मेर जीवन चलाउन जमजमाउने हरेकले जन्मभूमिको जयगानमा आफूलाई समर्पित गर्नु नै उसको पुनीत कर्तव्य पनि हो । यसै सन्दर्भमा वाङ्मयसेवा पनि राष्ट्रसेवाको महत्वपूर्ण कडी हो भन्ने भावनाले यो संस्था उत्साहित छ ।
नइ प्रकाशनको प्रस्तावनामा उल्लिखित उद्देश्यअनुरूप विविध कार्यक्रम र योजनामुताबिक प्रस्तुत कृति पनि प्रकाशमा आएको हो ।
नेपाली साहित्याकाशमा इन्दिरा प्रसाई एउटा परिचित नाउँ हो । उहाँले साहित्यसिर्जनामा आफ्नो नाउँ स्थापित गर्नुभएको छ र साहित्यिक सङ्गठनमा समेत उहाँ अग्रसर हुनुहुन्छ । उहाँको सृजनायात्राअन्तर्गत उपन्यास, कथा, कविता, निबन्ध र समालोचना प्रमुख रूपमा आउँछन् ।
इन्दिरा प्रसाईद्वारा लिखित प्रस्तुत उसको लोग्ने र बिरालो एउटा मनोवैज्ञानिक उपन्यास हो । मानवको वैवाहिक जीवनपद्धतिका सूक्ष्म कुराहरू यस उपन्यासबाट झल्किन्छन् ।
उसको लोग्ने र बिरालोनामक कृति प्रकाशित गर्न पाउनु नइ प्रकाशनको लागि एउटा विशेष गौरवको अवसर हो ।
● नइ प्रकाशन