सातौं दिन
बिहान नीला बिउँझिँदा कोठामा निकै उज्यालो पसिसकेको थियो । बिहानको घाम पनि निकै चर्को भएको थियो, बाक्लो पर्दा पनि छिचोलेर कोठामा घाम पसेको थियो । आफ्नै बिछ्यौना नियाल्न पुगे नीलाका आॅखा । बिछ्यौनाको आभास सुतेको भाग रित्तो थियो । ऊ कुन बेला उठ््यो ? नीलालाई पत्तो भएन । “मेरी रानी ! बिहान पनि बित्न लाग्यो” बिहे गरेको दोस्रो दिनको बिहान नीलाका ओठमा चुम्बन गरेर आभासले उसको निद्रा बिउँझाएको घटनाको मृदु स्मृति भएर आयो उसलाई ।
त्यसै बेला उसका आँखा पलङको सिरानीमा भएको घडीमा परे; सानो काँटाले आठको अङ्क पनि नाघिसकेको थियो । “आज अफिस नजानुप्रयो” नीलाभित्र त्यसै त्यसै आलस्यले जरा गाड््यो । पलङकै टेबुलमा भएको टेलिफोनबाट नीलाले आफ्नो इन्चार्ज रघुजीलाई जानकारी गराई । भोलि पनि नआउने कुरा गरेपछि उनले सोमबारको निधो मागे । नीलाले सोमबार पक्का अफिस आउने निर्णय दिई । त्यसपछि नीलाले आफू निक्कै फुर्सदिलो भएको अनुभूति गरी ।
“आभास के गर्दै होला ?” मनले प्रश्न गरेपछि नीला अनायास कोठाको बगैँचापट्टि खुल्ने झ्यालमा पुगेकी थिई । पर्दा उघार्नासाथ नीलाका आँखा आभासका ढाडमा गएर ठोक्किए । आभास उसको बिरालोसँग तन्मय भएको थियो । आभासको बगैँचा पनि रमाइलो थियो । फागुन महिनाको अन्तिमतिर काठमाडौँका बगैँचामा बहार आउँछ । पुस र माघको चिसो याममा कठ्याङ्ग्रिएका बोटबिरुवाहरू फागुनको न्यानो पाउनासाथ रमाएर आङ तन्काउन थाल्छन् । त्यसैले बिहानको घाम तापेर फूलबारीको आनन्द लिँदा एउटा स्वर्गीय अनुभूति हुने गर्छ । तर यो आनन्दको अनुभूति भन्ने कुरा पनि मनको खुसी र दुःखसँग गाँसिएको हुँदो रहेछ । मान्छेको मनमा वैराग्यको बोलबाला भएका बेला जस्तोसुकै रमाइलोले पनि आनन्द सञ्चार गर्न सक्तो रहेनछ ।
आज पनि आभासको फूलबारीमा आउँदै गरेको बहारले नीलालाई कुनै आनन्दको अनुभूति गराउन सकेन । बिरालोसँग तन्मयता गाँसेको आभासलाई देखेर कसोकसो डाँको छोडेर रूँरूँ जस्तो लाग्यो नीलालाई ।
पर्दा उघारे पनि धेरै बेरसम्म फूलबारीको दृश्य उसले हेरिरहन सकिन । नीलाभित्र फूलबारीको हावासँगसँगै नमीठोपन पनि प्रवेश गरिसकेको थियो ।
गलेको शरीरको भारी उसले पुनः आफ्नो बिछ्यौनामा बिसाई ।
“नीलु ! तिमीलाई ढीलो भएन आज ?” हस्याङफस्याङ गर्दै आभास कोठामा आएको थियो । “नीलु ! मिल्छ भने आज एक दिनको बिदा लेऊ न; तिमी र म आज कतै घुम्न जानुपर्छ ।” आभासले अँगालामा राखेर यसो भन्नेछ भन्ने अपेक्षाले तुरुन्तै गाँजेको थियो नीलालाई । “नीलु ! के तिमीलाई सन्चो भएन ?” प्रत्यक्षतः आभासले नीलाको निधार छामेको थियो । नीला भने आँखा चिम्लिएर सुति नै रहेकी थिई । “मैले आज अफिस बिदा लिएकी छु” नीलाले आँखा चिम्लिएर नै जवाफ दिएकी थिई । आँखा खोलेर आभासको अनुहार हेर्ने मोह पनि पटक्कै भएन उसलाई । “तिमी फ्रेस हुने होइन ? म जाऊँ बाथरुम ?” आभासले नीलासँग अनुमति लिँदा नलिँदै शौचालयतर्फ प्रवेश गरेको थियो । आभास शौचालयबाट निवृत्त भएर निस्कँदा पनि नीला भने बिछ्यौनामा उही अवस्था र गतिमा थिई ।
“नीलु ! तिमी पनि फ्रेस भएर आइहाल, भोक लागेको छ ब्रेकफास्ट खाइहाल्नुपर्छ । मिलनलाई दूध खुवाउन मङ्गलेलाई म अह्राउँछु ।” आभास नीलासँग बोल्दानबोल्दै कोठाबाट बाहिरिएको थियो । आभास बाहिर निस्किएपछि पनि धेरैबेर नीलाले आभास त्यही बाटोबाट फर्कने आशामा त्यतै हेरिरही । “मेरी नीलु ! तिमीविनाको यो बिहान ज्यादै निरस बित्यो । बिन्ती, अब अबेर नगर; आज हामी साथै रमाउने ।” आभास फर्केर आउनेछ र नीलाका गाला, ओठ, निधार र यत्रतत्र चुम्बन गरेर आफ्नो भरखरै मात्र नुहाएको केशको चिसोपनले नीलालाई ताजा पार्नेछ । नीलाले चाहँदानचाहँदै पनि फेरि पनि यस्तो कल्पना गरी । तर यसपालि पनि उसको कल्पना कल्पनाकै घेराभित्र मात्र रह्यो । अर्थात् त्यसो हुँदै भएन; ऊ आएन, आउँदै आएन । “रानीसाहेब, राजाले ब्रेकफास्ट खाइस्यो रे ! हजुर नुहाएर ब्रेकफास्ट खान गइस्यो रे ! राजा मिलनलाई लिएर डाक्टर देखाउन गैस्यो भन्दिनू भनिस्या’छ ।” सुरेशले कोठाको ढोकैबाट समाचार सुनाएर फर्केको थियो । त्यो केटो तुरुन्त आएर तुरुन्तै फर्केको पनि थियो ।
ऊ गइसकेको भए तापनि उसले बोलेको आवाजको तरङ्ग भने नीलाका कानभित्रबाट मनको कुनै कुन्तरमा पसिसकेको थियो । आशाको ससानो त्यान्द्रो पनि चुँडिएको मनस्थितिमा नीला बिछ्यौनाबाट जुरुक्क उठेकी थिई । लक्ष्यविहीन हुन खोजेका उसका पाइलाहरू शौचालयतर्फ लागेका थिए ।
सुरेश त्यसपछि पनि ब्रेकफास्टको निम्तो गर्न आएको थियो । एकैचोटि भात खाने सूचना दिएर नीला बिछ्यौनामै ढल्केकी थिई । नुहाइधुवाइ सकेर केहीबेर ध्यानमा बस्ने आफ्नो आदतअनुसार आज पनि ऊ ध्यानमा बसेकी थिई । तर मनस्थितिमा आँधीबेहरी दौडिरहेकाले उसको ध्यान पटक्कै एकत्रित हुन सकेको थिएन । केहीबेरको असफल प्रयत्नपछि उसले आफूलाई ध्यानको आडम्बरमा बाँध्न उपयुक्त पनि ठानिन ।
“तिमी सुखी भएको हेर्न चाहन्छु, मम्मी, तिमी सुखी हुनुपर्छ ।” स्मृतिले भनेका शब्दहरू नीलाका मनभित्र आइरहे ।
“के म आभाससँग सुखी हुन सक्छु ?” नीलाले पहिलोपल्ट आफूले आफैँसँग प्रश्न गरी । यो प्रश्नको उत्तर नीलाको अन्तर्मनले उसलाई दिन सकेन । प्रश्नलाई आफैँभित्र खेलाएर सम्भावित उत्तरहरू खोज्नमा नीलाको मनस्थिति प्रयत्नरत रह्यो ।
“रानीसाहेब, भुजा ज्यूनार गर्न सवारी होस् अरे ! राजा डाइनिङ रुममा होइसिन्छ ।” पुनः सुरेश नै निम्तो बोकेर आएको थियो । “हेर न, मिलनलाई तागतको औषधि लेखिदेऊ भनेर डाक्टर दत्तकहाँ लगेको थिएँ । उसले लेखी त दियो तर त्यो औषधि कतै पाइएन । अब भात खानेबित्तिकै म पाटन र भक्तपुरका औषधि पसलमा यो औषधि खोज्न जान्छु । तिमी मसँग जाने हो ?” नीला डाइनिङ टेबुलमा पुग्नासाथजसो आभासले भनेको थियो । “होइन म आज कतै नजाने, आज आराम गरेर बस्छु ।” नीलाले आभासको अनुहारमा नहेरी भनेकी थिई । दलबहादुर दाइले खानाका विशेष परिकारहरूले टेबल सजाएका थिए । नीलाले नाममात्रैको खाना आफ्नो थालमा हालेकी थिई । आभासले उसको सधैँको मात्राअनुसारको खाद्यपदार्थ आफ्नो थालमा भरेर खान पनि थालिसकेको थियो । “किन र रानीसाहेब, हजुरलाई मैले तयार गरेको खानेकुरा
मीठो लागेन कि ? किन होला नारायणघाटबाट फर्केर आइबक्सेपछि हजुरले मन लगाएर भुजा ज्यूनार गरिबक्सेकै छैन । केही उचनीच भएको भए क्षमा पाऊँ । हजुरको रुचिको जानकारी पाए त्यसैअनुरूपको भान्सा तयार गर्ने थिएँ ।” दलबहादुर दाइले अत्यन्तै विनम्रतासाथ नीलाबारेको आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
दलबहादुर दाइले नीलाका बारे उल्लेख गरेका कुराहरू अर्थात् विगत चार दिनदेखि उसले खाना खाने कुरामा रुचि नलिएको कुरा सत्य थियो । आफूलाई माया गरेर, आफ्नाबारे चासो राखेर दलबहादुर दाइले कुरा मात्र गरिदिँदा ती कुराले नीलाका अन्तरमनको कुनै कोमल मांसपेशी बेस्सरी दुखेको थियो । “होइन दाइ, त्यस्तो केही होइन; तपाईंले तयार गर्नुभएको खानामा कुनै दोष छैन । मलाई नै खानमा रुचि नभएको मात्रै हो ।” नीलाले भित्रभित्रै झन्नै पग्लन खोज्दै भनेकी थिई । “शरीर बिसन्चो भयो कि ? डाक्टरसँग जाँच पो गराउनुपर्छ कि ?” दलबहादुर दाइले थप आत्मीयता प्रकट गरेका थिए ।
“होइन, त्यस्तो बिसन्चो पनि केही छैन ।” नीलाले टार्न खोजेर भनेकी थिई ।
दलबहादुर दाइको नीलाप्रतिको स्नेहपूर्ण व्यवहारले नीलालाई भावविह्वल पारेको थियो । “आभासले मलाई यही कुरा भनेको भए ? उसले पनि मैले खाएनखाएको विचार गरेको भए ?” दलबहादुर दाइले गरेको मायालु खोजीनीतिले नीलालाई पुनः आभासप्रति उपेक्षित पारेको थियो । प्रत्यक्षतः आभासले दलबहादुर दाइले नीलासँग गरेका कुराकानीसँग पनि कुनै सरोकार राखेको थिएन । खानाको स्वादमा डुबेर ऊ एकनास खाइरहेको थियो । “हिँड, आजै डाक्टरलाई देखाइहाल्नुपर्छ, यस्तो कुरामा बेवास्ता गर्नै हुन्न ।” बिहे गर्नुभन्दा एक महिनाअघि नीलाले दाँत दुख्यो भन्नासाथ आभासले नीलालाई तुरुन्तै दाँतको डाक्टरकहाँ प्रुयाएको घटना नीलाले सम्झन पुगी । “मिलनले मलाई मेरो जिन्दगीको रमाइलो पुनः फर्काइदिएको
छ नीलु ! मलाई मिलनलाई भेटेको दिनदेखि यो संसार रमाइलो लागेको छ । मनमतीसँग म यसरी नै रमाएको थिएँ । रूपाको दुष्टताले गर्दा उसलाई मसँग छुट्ट्याइदिई । त्यसैले मिलनलाई म एकैछिन पनि आफ्नो आँखाबाट ओझेल पार्न चाहन्न । कसले कुन बेला के गर्छ, त्यो निरीह जीवले केही बुझ्दैन ।” आभासले खाइसकेपछि उनीहरू दुवै बिरालाको कोठाको ढोका अगाडि पुगेका थिए । “हेर न, हिजोआज त यसले पनि मलाई कस्तो पछ्याउँछ ।” बिरालाको कोठामा प्रवेश गरेको आभासलाई देख्नासाथ सुतिरहेको मिलन म्याउँ गर्दै आभासको खुट्टामा आएर लुटपुटिएको थियो । “मिलु !” आभासले खुट्टाको बिरालोलाई भावविभोर हुँदै दुई हातले उचालेर छातीमा टाँसेको थियो ।
आभासको यस्तो प्रसन्नतालाई नीलाले भने धेरैबेरसम्म हेर्न सकेकी थिइन । “म कोठामा गएँ है !” नीलाले आभासलाई जानकारी दिएकी थिई तर उसको प्रतिक्रिया सुन्न त्यहाँ पर्खेकी भने थिइन । “म आभाससँग सुखी हुन सक्छु ?” आफ्नो बिछ्यौनामा ढल्कनासाथ नीलाभित्रजागृत प्रश्नले उसलाई पुनः गिजोल्न लागेको थियो । “आभास र मेराबीच आएको बिरालोलाई म स्वीकार्न सकुँला ? आभासले मलाईभन्दा बिरालोलाई माया गर्छ । मिलनसँग टाँस्सिएको आभासलाई मैले स्वीकार गर्न पनि त सकिरहेकी छैन ।” अनगिन्ती तर्कवितर्कले नीलालाई पछ्याइरहे ।
“म के गरूँ ? यो जीवन र हिजोको मेरो जीवन मेरा लागि कुन राम्रो ? यसरी दिनरात छटपटिएर बाँच्नु राम्रो हो अथवा एकातिर लागेर शान्त भएर बाँच्नु राम्रो हो ? के म आभासलाई तिमी बिरालो र ममध्ये एकलाई रोज भन्न सक्छु ? बिरालोसँगको मेरो प्रतिशोधले आभासका लागि म र रूपाबीच के भिन्नता होला र ? जब म आभाससँग गाँसिएको उसको बिरालो सहन सक्तिनँ भने आभासले पनि रूपाको पुनरावृत्ति सहन सक्तैन ।” नीलाले आफैँसँग प्रश्न पनि गरेकी थिई र आफैँले उत्तर पनि पहिल्याएकी थिई । “मलाई आभासको धनसम्पत्तिको आडम्बरी सुख चाहिएको हो या आभासको सम्पूर्ण माया ? अब म के आभाससँग बिरालोलाई हैन मलाई माया गर भनेर मायाको भीख मागूँ ? अप्रत्याशित आभासले मेरो झोली भरिदियो भने पनि त्यस्तो मागेको मायाले के म तृप्त हुन सकुँला ?”
“आभासले मलाई जसरी स्वीकारेको छ यही रूपमा सधैँ स्वीकारिरहला । तर के म आभासलाई यही रूपमा स्वीकार्न सक्छु ? सामाजिक धाकरवाफका लागि यदि मैले आभाससँगको मन नपर्दो सम्बन्ध स्वीकारिरहेँ भने पनि म आफ्नै लागि रमाएर बाँच्न सकुँला ?”
“मैले अब आभाससँग छुट्टिनुपर्छ । मैले आभाससँग कानुनी बिहे नगरेकाले कानुनी पारपाचुके गर्नु पनि आवश्यक छैन । मैले आभाससँग छुट्टिनुको कारण कसैलाई भन्न पनि सक्तिनँ । मैले भनेँ भने पनि कसैलाई बुझाउन सक्तिनँ । जतिले मैले आभाससँग बिहे गरेको थाहा पाएका छन्, आभाससँग अलग्गिँदा तिनीहरूका दृष्टिमा म हास्यास्पद हुनेछु । आभाससँग छुट्टिएपछि दर्पणसँगको सम्बन्धका लागि पनि मानिसहरूले मलाई नै दोषी ठह्रयाउनेछन् । त्यो लाञ्छना भोग्नका लागि पनि मैले आफूलाई तयार राख्नुपर्छ किनभने म अहिलेको यो पीडाबाट मुक्ति खोज्दै छु ।”
वर्तमानसँगको उन्मुक्तिका लागि आफ्नै विचारहरूका जन्जालमा जेलिएको आफ्नो अस्तित्वरक्षामा नीला तैनाथ थिई ।
“म अरूका आँखाले शङ्कास्पद र केही घृणाकै छायाँभित्र देखिउँला पनि तर आफू आफ्नै नजरमा भने चोखो हुनेछु । अब म आभाससँग बस्नु भनेको आभासप्रतिको छल हो र म आफैँसँग पनि यो छल मात्रै हुनेछ ।” नीला आफू आफैँसँग कुरा गरेर केही दह्रो पनि भई । त्यसै बेला फोनको घण्टीले उसको एकान्त भङ्ग गरेको थियो । “त्यहाँ नीलाजी हुनुहुन्छ होला ?” फोनमा उतापट्टिबाट कुनै पुरुषस्वर आएको थियो । “म बोल्दै छु, यहाँ को बोल्नुभयो ?” अपरिचित आवाजसँग नीलाले परिचय मागेकी थिई । “हजुर म रामजी शर्मा, हजुरले मसँग घर किन्ने कुरा गर्नुभएको थियो । अहिले दुईचारओटा फ्ल्याटहरू बिक्रीमा भएकाले हजुरसँग सम्पर्क राखेको ।” त्यस मानिसले आफ्नो परिचय र उद्देश्य पनि भनेको थियो । उसले परिचय दिँदा नदिँदै नीलाका सम्झनामा आएको थियो; ऊ घरजग्गा बिक्रीवितरण गर्ने दलाल थियो । फोन हातमा लिएर उसलाई के भनूँको मनस्थितिमा नीला अलमल्ल परिरही । “आज हजुरलाई फुर्सत भए” उताबाट रामजीको आवाज आएको थियो । “घरहरू राम्रा राम्रा छन्, भनेजस्तो घर भन्नेबित्तिकै पाइँदैन । अहिले भेटिएको बेला, मैले हजुरको अफिसमा फोन गरेर यो नम्बर पत्ता लगाएको हजुर ! हजुरलाई रोजाएर मात्रै अरूलाई देखाउँछु हजुर ! त्यसैले हजुर आजै ...” रामजी आत्मीयताका साथ बोलिरहेको थियो । उसको व्यावसायिक आत्मीयता पनि यसबेला नीलालाई मन परेको थियो ।
“तपाईंलाई कहाँ भेट्ने ?” नीलाले अनायास सोधेकी थिई । “हजुर बल्खुको चोकमा आइपुग्नुस् ठीक एक बजे; अहिले पौने बाह्र बजेको छ ।” उसले भनेको थियो । नीलाले पनि उसले भनेको समय ठह्रयाउन घडी हेरेकी थिई । “हुन्छ, म आइपुग्छु” नीलाले निर्णय पनि दिएकी थिई । त्यसपछि नीला तयार भएर त्यहाँबाट फुर्तिलो चालमा निस्किएकी थिई ।
“नीलु ! अफिस नजाने भनेको होइन ?” साँझ नीला घर फर्केपछि आभासले सोधेको थियो । धेरै दिनपछि आभासको दृष्टि नीलालाई परिचितजस्तो लागेको थियो । तर नीलाले यस कुरामा पटक्कै ध्यानै दिइन । “हेर न, म त दिनभरि मिलनको औषधि खोज्दाखोज्दा हैरान भएँ । दत्तलाई भेट्न पनि दुईपल्ट उसको अस्पतालमा पुगेँ । बल्लतल्ल भेटेर औषधिको नाम फेरेपछि किनेर ल्याएँ ।” आफ्नो प्रश्नको नीलाबाट जवाफ सुन्नुभन्दा पहिले नै आभासले आफ्नो बेहोरा प्रस्तुत गरेको थियो । नीलाले कुनै रुचि नभए पनि आभासका कुराहरू सुनिरही, अथवा सुन्नुको बहाना गरिरही ।
“म साथीकहाँ गएकी थिएँ ।” आफूले आजै घर किनेर दर्तापास पनि गरेर आएको साँचो कुरा आभासलाई सुनाउन मनै लागेन नीलालाई । त्यसैले आभाससँगको सङ्गतमा नै पहिलोपटक झूटो बोलेकी थिई नीलाले । यसरी आभाससँग झूटो बोलेको क्षण उसभित्र धेरै दिनपछि अर्कै किसिमको आनन्दको लहरले सरर छोएर गएको थियो ।
त्यस बेलुकी पनि सधैँझैँ उनीहरू खाना खाएपछि छुट्टिएका थिए । नीला सुत्ने कोठातिर लागी, आभास बिरालो बोकेर बैठककोठातिर लाग्यो । “तिमीलाई छिट्टै निद्रा लाग्छ, म मिलनलाई औषधि खुवाएर मात्र आउँछु” छुट्टिने बेलामा आभासले नीलाको ढाडमा धाप मार्दै भनेको थियो ।
“आभास मेरो होइन, हुन पनि सक्तैन । ऊ बिरालाको हो र उसलाई मैले बिरालोबाट खोस्नु पनि हुँदैन ।” सुत्ने कोठामा पस्दापस्दै नीलाको मनले ठहर गरेको थियो ।
त्यस रात पनि नीलाको निद्रित अवस्थामै सधैँझैँ आभासले आफ्नो आवश्यकता पूरा गरेको थियो । “नीलु ! म तिमीलाई माया गर्छु, धेरै नै माया गर्छु ।” बितेका रातहरूमा झैँ यो वाक्य आभासले त्यस रात पनि दोह्रोयाएको थियो । बितेका रातमा यही वाक्यले नीलालाई केही क्षणका लागि भए पनि अभिभूत पार्ने गर्थ्यो । ऊ त्यस क्षणको उन्मादमा दिनभरिको आभासको पराईपन बिर्सिने गर्थी । तर त्यस रात भने आभासको वाक्यले नीलालाई कुनै स्पर्श गर्न सकेन । किनकिन नीलालाई त्यसबेला आभाससँग प्रतिप्रश्न गर्न मन लाग्यो । “म र मिलनमध्ये कसलाई धेरै माया गर्छौ ?” नीलाले सोधेकी थिई । आभासले के जवाफ दिन्छ भन्ने कुरा पनि नीलालाई थाहा नभएको होइन तर पनि त्यस बेला उसलाई सोध्नै मन लागेको थियो । “उसलाई पनि माया गर्छु । तिमीलाई मैले भनेको होइन, बिरालो मेरो प्रिय जीव हो । म बिरालोलाई अति नै मन पराउँछु । अहिले मलाई लाग्छ मिलनविना म बाँच्न पनि सक्तिन होला नीलु ?” भन्दाभन्दै आभासको आवाजमा तरलताले छोएको थियो । तर नीलालाई त्यस बेला आभासको तरलता पनि नदी किनारको बालुवाजस्तो लागेको थियो ।
कताकता दुखेजस्तो भए पनि आभासको जवाफ सुनेपछि नीलाले आफूलाई कुनै असर नपरेको जस्तो गरेर आभाससँग अपरिचित हुन खोजी ।
“आभास !” नीलाले बिस्तारै बोलाउँदा आभास पूर्ववत् आश्वस्त थियो र आनन्दको पौडीमा निदाउन लागेको थियो । “आभास ! भोलिदेखि म आफ्नै फ्ल्याटमा फर्कंदै छु । आज दिउँसो म आफ्नो फ्ल्याट किन्न गएकी थिएँ ।” आभासको रमाइलोमा सायद वज्रपात भएको थियो ।
“किन नीला तिमीलाई यहाँ के भयो ? के मैले कुनै गल्ती गरेँ ? त्यस्तो कुरो नगर नीला ! मलाई छोडेर नजाऊ । म तिमीलाई असाध्य माया गर्छु ।” आभासले फरक्क फर्केर नीलालाई आफ्नो अँगालोमा बाँध्दै भनेको थियो । आभासको एक स्पर्शले नै रोमाञ्चित हुने नीलाका इन्द्रियहरू यस बेला पत्थरका जस्ता भएका थिए । “आभास ! मानिसलाई बाँच्नका लागि चाहिने सबैभन्दा आवश्यक
कुरा मनको सुख रहेछ । मैले तिमीबाट मनको सुख पाउन सकिनँ । माया त म पनि तिमीलाई नै गर्छु, तर खोइ म तिमीसँग खुसी हुन सकिनँ र खुसी भएको बहाना बनाएर म तिमीलाई झुक्याउन पनि सक्तिनँ; अझ आफूलाई त सक्तै सक्तिनँ ।” नीलाले एकदमै हतारहतार भनेकी थिई ।
त्यसपछि उनीहरूबीच कुनै संवाद भएन । त्यस रात आभास कतिखेर निदायो नीलालाई थाहा भएन तर नीला भने अनिद्रालाई लत्याएर अघि बढेकी थिई ।
●
“तिमी आफ्नो निर्णय फिर्ता गर्न सक्तिनौ ?” त्यस बिहान आभासले नीलासँग आग्रहका स्वरमा भनेको थियो । “आभास ! तिमी मेरो जीवनमा आएका एकजना असल मित्र हौ । हाम्रो सम्बन्धले मित्रताको रेखाभन्दा अघि बढ्नु हुँदैनथ्यो । गल्तीलाई जबर्जस्ती अँगालेर कसैको जीवन पनि कुण्ठित हुनुहुँदैन । हामी दुवैको आआफ्नो जीवन आआफ्ना लागि उत्तिकै महत्वपूर्ण छ । तिमीसँग बिहे गर्नुको भूल सच्याएर अब म तिमीसँग छुट्टिएर बाँच्न चाहन्छु । आभास मलाई लाग्छ हामी दुवैको वैवाहिक जीवनबाट हामी दुवैले एकअर्कालाई मुक्त गर्नुमै हामी दुवैको कल्याण छ ।” नीलाले उसको र आभासको सम्बन्धलाई परिभाषित गर्दै आफ्नो निर्णय सुनाएकी थिई ।
“मैले तिमीबाट यस्तो अपेक्षा गरेको थिइनँ, नीला !” आभासको अन्तिम स्वर थाकेको थियो । “मैले पनि तिमीबाट यस्तो अपेक्षा कहाँ गरेकी थिएँ र ?” नीलाले आभासलाई त्यसबेला मनमनै मात्र जवाफ दिएकी थिई । प्रत्यक्षतः नीलाले आभासलाई केही पनि भनेकी थिइन, मात्रै हेरिरहेकी थिई अनौठो दृष्टिले । यत्तिका दिन आफ्नो भएको आभास त्यस क्षण नीलालाई एकदमै पराई लागेको थियो । चिनेको मान्छेजस्तो तर मन नपराएको मान्छेजस्तो । आफ्नोजस्तो तर आफ्नो हुँदाहुँदै बिरानो भइसकेको मान्छेजस्तो । कस्तोकस्तो ठम्याउन पनि सकिन उसले र त्यसपछि हेरिरहन पनि सकिन आभासलाई । सूत्र जानेर पनि मिल्न नसकेको हिसाबजस्तै भएको थियो उनीहरूको दाम्पत्यजीवन । किन र कसरी अनि के भयो ? आभासले चाल पाउन पनि सकेन ।
आभासको ड्राइभर हेमराजले नीलालाई उसको नयाँ फ्ल्याटमा प्रुयाइदिएको थियो ।
●
आभास र नीलाको दाम्पत्यको प्रण त्यसपछि सकिएको थियो तर जीवन सकिएको थिएन ।